प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणसँग जोडेर केही सांसदहरुले प्रश्न उठाएका छन् । उनीहरुले प्रधानमन्त्री आत्मविश्वासले रोगसँग जिते पनि भ्रष्टाचारसँग जित्न नसकेको बताए ।
शुक्रवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरीले शरीरमा काम नलग्ने भएपछि प्रधानमन्त्रीले मिर्गौला फेरे पनि काम नलाग्ने आसेपासे र भ्रष्टाचारीलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘शरीरको अंग भएपनि काम नलाग्ने भएपछि फेर्नुपर्ने रहेछ। आसेपासे भएपनि देश र जनताको काम नलाग्ने भ्रष्टाचारीलाई किन कारबाही भएनरु ’देश कोरोना भाइरसको भयले आक्रान्त छ । त्यसभन्दा भ्रष्टाचारी भाइरसले देशको फोक्सो, मुटु र कलेजोमा संक्रमण गरेको उनको भनाइ थियो ।
त्यस्तै सासद डिला संग्रौला पन्तले पिन प्रधानमन्त्रीले शारीरिक रुपमा जिते पनि भ्रष्टाचारसँग जित्न नसक्नु भएको बताइन् । ‘शारीरिक रुपमा जित्नुभयो । भ्रष्टाचारसँग जित्नु भएको छैन । सेक्युरिटी प्रेसको भ्रष्टाचार ढाकछोप गर्ने होइन । कारबाही हुनैपर्छ’ उनले भनिन् ।
देशमा कोरोना जस्तै भ्रष्टाचारले दुस्ख दिएको उनको भनाइ थियो । उनले भनिन्, ‘भ्रष्टाचार नेपालको कोबिड १९ नै हो । देशलाई भ्रष्टाचारले बिकलाङ्ग बनाएको छ।’