कोरोना भाइरसका संक्रिमत र त्यसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले लोम्बार्डी क्षेत्रसहित देशका १४ प्रान्तका मानिसहरुलाई आवातजावतमा प्रतिबन्ध लगाएको छ । विदेशी पर्यटकलाई रोक लगाएको इटालीले देशभित्रैका प्रान्तहरुमा पनि एउटाबाट अर्कोमा जान रोक लगाएको हो ।
इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक लागू हुने बताए । ३ अप्रिलसम्म सरकारले बाहिरका मानिसहरुलाई आउजाउ गर्न प्रतिबन्ध लगाएको हो । इटाली सरकारको यो निर्णयबाट १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लाग्ने छ । १ करोड ६० लाख मानिसहरूलाई क्वारेन्टाइनमा राखिएको प्रधानमन्त्रीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
कोरोना भाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित देश भएको छ । कोरना भाइरसका कारण शनिबारसम्म इटालीमा २३३ जनाले ज्यान गुमाएका छन् । कोरनाबाट १२४७ जना गम्भीर संक्रमणमा रहेको र हालसम्म ५८८३ जनामा यो संक्रमण फैलिएको आँकलन गरिएको छ । इटली चीनपछिको सबैभन्दा धेरै कोरनाका कारण मृत्यु हुने देश पनि भएको छ । चीन र दक्षिण कोरियापछि इटाली सबैभन्दा धेरै संक्रमित भएको देश बनेको हो ।
इटालीको मिलान आसपासको लोम्बार्डी क्षेत्रसहित भेनिस पर्मा, रिमिनी सहरहरुमा थप संक्रमण फैलनबाट रोक्न क्वारेन्टाइन निर्माण गर्ने योजना सरकारले बनाएको थियो ।
यसैगरी सरकारले रेष्टुरेन्टहरू खोल्ने अनुमति भने दिएको छ । रेष्टुरेन्ट खोल्ने अनुमति दिएपनि ग्राहकहरू कम्तीमा एक मिटरको दुरीमा बस्नुपर्नेछ । सरकारले सम्भव हुँदाको अवस्थासम्म आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न भनेको छ र यसको उल्लघंन गर्नेलाई तीन महिनासम्म जेल हाल्ने चेतावनीसमेत दिएको छ ।