दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
उनन्तीस जना अझै हराइरहेका छन् । च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार साँझ भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए । उद्धारकर्मीहरूले अहिले पनि भग्नावशेषमा खोजी गरिरहेका छन्।
आपत्कालीन व्यवस्थापन हेर्ने मन्त्रालयका अनुसार ३८ जनाको उद्धार गरिएको छ । यसअघि फसेकामध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका थिए । भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन । उक्त घटना स्थानीय समयानुसार शनिवार अपराह्ण ७:३० बजे भएको थियो ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो । उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ ।
आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, ‘मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन । उहाँहरूले फोन उठाइरहनुभएको छैन ।’
‘म पनि अर्को होटलमो क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ । के गर्ने त्यो मलाई थाहा छैन,’ उनले भनिन्, ‘उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो । अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए ।’