कोरोनाविरुद्ध भुटानको कदम : नागरिकलाई नि:शुल्क स्यानिटाइजर

नेपालले पाठ सिक्नु पर्ने

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने हल्लाले बजारमा मास्क, स्यानिटाइजर लगायतका सामानहरुको अभाव भइसकेको छ । हालसम्म एकजनामा भाइरसको संक्रमण देखिएपनि ती व्यक्ति उपचारपछि घर फर्किसके । अहिलेसम्म अरु कसैमा भाइरसको संक्रमण देखिएको छैन । तर छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको भाइरसको त्रासले नेपालीहरु ‘लकडाउन’ हुन सक्ने खतरा औंलाउँदै घरका लागि सामानहरु जोहो गर्दैछन् ।

९० भन्दा बढी राष्ट्रमा भाइरस फैलिसकेको अवस्थामा पनि सरकारले भाइरस नेपाल भित्रिन नदिन प्रयास नगरेको भनेर आलोचना हुँदै आएको छ । विमानस्थलबाट कोरोनाबाट अति प्रभावित राष्ट्रबाट निर्वाध रुपमा पर्यटक र त्यहाँ बस्दै आएका नेपालीहरु काठमाडौं आउँदैछन् । सीमा नाकाबाट पनि पर्यटकहरु नेपाल भित्रिरहेका छन् । बरु भारतले नै नेपालबाट आउने सबैको स्क्रिन टेस्ट सुरु गरिसक्यो ।



यता, भुटानमा समेत केही दिन अघि मात्रै एकजनामा कोरोना भाइरसको संक्रमण देखियो । संक्रमण फैलिन नदिन भुटानमा धेरै प्रयास गरिएको थियो । तर, एक अमेरिकी नागरिकमा कोरोनाको संक्रमण देखिएसँगै भुटानको नाम पनि कोरोना संक्रमित राष्ट्रमा पर्‍यो ।

एकजनामा संक्रमण देखिने बितिकै भुटानका प्रधानमन्त्री लोटे छिरिङले देशवासीका नाममा सम्बोधन गरे र कोरोनाका बारेमा जानकारी दिए । भारतबाट भुटान पुगेका अमेरिकी पर्यटकको विमानस्थलमा तापक्रम समेत परीक्षण गरिएको थियो । सामान्य ज्वरो देखिएको ती पर्यटकपछि अस्पताल भर्ना भए र उनमा कोरोनाको संक्रमण देखियो । त्यसलगत्तै भुटानले आफ्नो सीमा दुई हप्ताका लागि बन्द गरेको छ ।

‘दुई हप्ताका लागि भुटान प्रवेशमा सबै पर्यटकलाई रोक लगाइएको छ । भाइरसको संक्रमण फैलिन नदिन र जनतामा त्रास फैलिन नदिन यसो गरिएको हो ।’ भुटानको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।

एकजनामा संक्रमण देखिएसँगै त्यहाँ पनि मास्क र स्यानिटाइजर किन्न मानिसहरु बजार पुगिरहेका छन् । घरका लागि आवश्यक् सामान जोहो गर्दैछन् । यसैबीच बजारमा स्यानिटाइजरको अभाव हुन नदिन भुटान सरकारले आफ्ना नागरिकहरुका लागि नि:शुल्क रुपमा स्यानिटाइजर वितरण गर्न सुरु गरेको छ ।

https://www.facebook.com/PMOBhutan/posts/2753818268064192

‘सरकार विपतको बेलामा जनतासँगै छ’, प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए । त्यसैले शनिवार राजधानी थिम्पुको तीन स्थानमा लोटे सरकारले निस्शुल्क स्यानिटाइजर वितरण गरेको थियो । एकजनालाई १०० मिलिलिटर स्नानिटाइजर वितरण गरिने बताइएको छ ।

बजारमा स्यानिटाइजरको अभावसँगै त्रास नफैलियोस् भनेर भुटान सरकारले अल्काेहल, स्प्रिट, ग्लिसिरिन मिसाएर स्यानिटाइजर तयार पारेको हो । विस्तारै अन्य स्थानमा समेत स्यानिटाइजर र मास्क वितरण गर्ने योजना सरकारले बनाएको छ ।

नेपालले भुटानबाट पाठ सिक्नु पर्ने

नेपालले पर्यटकको आगमनलाई बन्द गर्न सकेको छैन । अझै केही समय पूर्व त योगेश भट्टराईले नेपाल कोरोनामुक्त छ भन्दै पर्यटकहरुलाई नेपाल भित्र्याउन आव्हान गरेका थिए नेपाल कारोनामुक्त छ भन्ने फुर्ति लगाउँदै । कारोनामुक्त कसरी भन्न मिल्छ ? एक जनालाई काेरोना लागेपछि त कोरोनामुक्त हुन सकेन नी । यो त अति बचपना कुरा हो । नेपालमा मास्क, स्यानिटाइजर लगायत खाद्यान्न वस्तु, ग्याँस, औषधि अभाव भैरहेको बेलामा भुटानले एउटा व्यक्तिमा कोरोना संक्रमण देखिने बित्तिकै पर्यटकहरुको आगमनमा प्रतिबन्ध लगाउने हिम्मत गर्यो । मास्क र स्यानिटाइजर निःशुल्क बाँड्दैछ । यसबाट नेपालले पनि पाठ सिक्नुपर्दछ र केही समयको लागि पर्यटकहरुलाई नेपाल आउन बन्द गर्नुपर्दछ । नत्र यहाँ कारोना भित्रियो भने त्यसबाट धनजन र अर्थतन्त्रमा कति क्षति  हुन्छ त्यसको हामी कल्पना पनि गर्न सक्दैनौं ।

सम्बन्धित समाचार