होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । भारतको ओडिशा राज्यमा मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघिका वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । प्रशासनले रोक लगाउँदा लगाउँदै पनि नदी तथा पोखरीमा गएर नुहानेको डुबेर मृत्यु भएको हो । होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो ।
कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।