पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित निवासमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको घरमा विस्फोट आफूहरुले गराएको दाबी गर्दै प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ ।
मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान सात बजेर ४० मिनेटमा विस्फोट भएको थियो । घर नजिकै विस्फोट गराउन प्रयोग गरिएको रिमोट फेला परेको प्रहरीले जनाएको छ । विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्रस्त भएको छ ।
विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षतिग्रस्त भएका छन् । बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ । एसपी सविन प्रधानका अनुसार पूर्वमन्त्री बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा विष्फोट भएको हो । उनले भने, ‘पूर्वमन्त्रीज्यूको लोकन्थलीस्थित निर्माणाधीन घरको कमाउन्ट वालमा विष्फोट भएको छ ।
विस्फोटबाट वालमा थोरै क्षति पुगेको छ । घरको शिशाहरु फुटेको छ । छेउको घरमा पनि सामान्य क्षति भएको छ । कसले घटना घटायो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौ ।’ बाँस्कोटाको घर क्षेत्रमा मंगलबार दिनभर प्रहरीले गस्ती गरेको थियो । तर बुधबार बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो ।