गीता छोएर कमल थापाले खाए पार्टी नफुटाउने कसम

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता घोषणा सभामा राप्रपा अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै पनि नफुटाउने प्रतिज्ञा गरेका छन् । बुधबार राष्ट्रिय सभामा आयोजित एकता भेलामा थापाले गीता छोएर अब पार्टी कहिल्यै पनि फुट्न दिने छैन भन्दै कसम खाएका हुन् ।

पार्टीलाई कहिले पनि नफुट्ने बनाउन नेताहरूले मात्र नभएर कार्यकर्ताहरूले पनि प्रतिज्ञा गर्नुपर्ने थापाको भनाई थियो । साथै, उनले कार्यकर्ताहरू व्यक्तिको पछाडि नभइ विचारको पछाडि र नेताको पछाडि नभइ नीतिको पछाडि लाग्नुपर्ने बताए ।



कार्यकताहरूले भेलाको शुरूमै शिर्ष नेताहरूले पार्टीलाई कहिल्यै पनि फुटाउने छैन भनेर गीता छुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । भेलालाई सम्बोधन गर्दै थापाले कुनै पनि विदेशी र स्वदेशी शक्तिको प्रभाव र दबाबमा नभइ जनता, कार्यकर्ता र देशको आवश्यकताले पार्टी एकता भएको भन्दै अब देशमा नयाँ बलियो बैचारिक शक्तिको उदय भएको बताए । उनले कांग्रेस र कम्युनिस्टको धारमै हिडेर वैकल्पिक शक्ति निर्माण नहुने बताए । कम्युनिस्ट र कांग्रेसबाट वाक्क भएका जनताले भोट हाल्ने वैचारिक शक्ति अब राप्रपा भएको उनले बताए ।

अहिले देशमा नेकपा र कांग्रेस दुबैले ब्रम्हलुट मच्याइरहेको आरोप नेता थापाको थियो ।

सम्बन्धित समाचार