नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
नेपाली कांग्रसकी सांसद डीला संग्रौला पन्तले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिलाई लिएर संसदमा टिप्पणी गरेकी छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने र कुनै व्यक्तिमा कोरोना भाइरसको आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए ।
विहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पन्तले मन्त्री ढकालको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको भन्दै त्यस्तो अभिव्यक्ति दिने अधिकार मन्त्रीलाई नभएको बताइन् । कोरोना भाइरसको भयावह स्थितिलाई लिएर विभिन्न देशहरूले सजगता अपनाइरहेको भन्दै उनले नेपाल सरकारलले पनि कोरोना भाइरसबाट कसरी बच्ने भनेर जनतालाई आश्वस्त पार्नुपर्ने बताइन् ।
कोरोना भाइरससँगै बजारमा खाद्यान र औषधिको अभाव भएको भन्दै सांसद पन्तले सरकारले पनि यस्ता कुरामा ध्यान दिनु पर्ने बताइन् । ‘राष्ट्रको पहिचान मुलुकको समृद्धि र जनताको सम्पन्नतासँग गाँसिएको हुन्छ’ उनले भनिन् । उनले अगाडि थपिन ‘सिहंदरबारको कुर्सीमा बसेर राप र तापमा रमाउनेहरूले न जनताको सम्पन्नता र समृद्धिको चाहनालाई पूरा गर्न सकेका छन्, न त मुलुकमा मौलाएको भ्रष्टाचार र भ्रष्टाचारीलाई कारबाही गर्न सकेका छन् । यो मुलुकको बिडम्बना नै हो ।’
काठमाडौं उपत्यका लिच्छवीकालीन र मल्लकालीन समयमा निमार्ण भएका धाराहरू अहिले लोभ हुँदै गएका वा अतिक्रमणमा परेर हराइरहेका भन्दै सांसद पन्तले तिनीहरूको सुरक्षा र संरक्षण पनि सरकारले गर्नुपर्ने बताइन् ।