बिडारीले गरे मन्त्रीको आलोचना : उद्घाटन कार्यक्रमहरूमा भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने !

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण बिडारीले सरकारका मन्त्रीहरूको काम कारवहीलाई लिएर आलोचना गरेका छन् । राष्ट्रियसभाको विहीबार बसेको बैठकमा बोल्दै सांसद बिडारीले उद्घाटन कार्यक्रमहरू मन्त्रीले व्यापक रूपमा भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने भन्दै मन्त्रीहरूको आलोचना गरेका हुन् ।

संसदमा सबै मन्त्रालयका प्रतिनिधिहरू आएर बस्नु पर्ने र संसदमा सांसदले कुन विषमा के बोल्छन् मन्त्रीहरूलाई थाहा हुनुपर्ने उनको भनाई रहेको थियो । उनले भने ‘आज विशेष समयमा मैले कुन विषयमा बोलेँ ? अरू माननीय सांसदहरूले कुन विषयमा बोल्नुभयो ? मन्त्रीलाई थाहा छ कि छैन ? त्यसैले जम्मै मन्त्रालयका एक एकजना प्रतिनिधि दर्शक दिर्घामा बसेर सबै कुरा टिप्नु पर्यो नि । त्यहीअनुसार व्यापक रूपमा छलपल गरेर भोलिपल्ट वा पर्सिपल्ट इमानदारपूर्वक मन्त्रीले संसदमा उभिएर जवाफ दिनु पर्यो नि ।’ उनले अगाडि थपे ‘जवाफ नदिने, बोले पनि हुने नबोले पनि हुने, ठीक बोले नि हुने बेठीक बोले नि हुने । त्यो प्रकारको सदन भएपछि संसदको गरिमा घट्छ अध्यक्ष महोदय ।’



जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि र सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्ने सासंद विडारीको भनाइ थियो । उनले सदन प्रभावकारी भयो भने र सदनले आधुनिक प्रगतिशील जनमुखी कानुन बनाउन सक्यो भने व्यवस्था विरोधीहरू परास्त भएर जाने बताए ।

जे देखिन्छ त्यही बोल्नुपर्ने भन्दै सांसद बिडारीले भने ‘देख्ने र बोल्ने फरक फरक कुरा जसले गर्छ, बेइमान त्यही हो । इमानदारपूर्वक देख्ने र इमानपूर्वक बोल्ने हरेक नागरिक र प्रतिनिधिको कर्तव्य हो ।’

नेपालमा उखडा जग्गा, आवाधिक जग्गा, वन जग्गा, सरकारी जग्गा, सार्वजनिक जग्गा लगायतका विभिन्न किसिमका जग्गा रहेको उल्लेख गर्दै उनले भने ‘सरकारले अहिले उद्योगका नाममा जग्गा लुकाएर राखेका अपराधीहरूको जग्गा लिन सकेको छैन । कृतिम अंशियार बनाएर हदबन्दीभन्दा बढी जग्गा गोठालहरूका नाममा राखेर रजाइँ गरिरहेकाहरूको जग्गा लिन सकेको छैन र कृषिका नाममा हजारौं विघा जग्गा यत्रतत्र अलपत्र पारेर राखेको जग्गा तह लाउन सकेको छैन । त्यो तह लाउने काम सरकारले गर्नु पर्यो । त्यसका लागि आवश्यक नीति र कार्य अगाडि बढाउनु पर्यो ।’

सरकारले नीति बनाउने, कानुन बनाउने, कानुन ठीक छ कि छैन हेर्ने र लागु भएको छ छैन हेर्ने काम हो कि बिहान सबेरैदेखि बेलुका अबेरसम्म ट्वाइलेटदेखि मन्दिरसम्म उद्घाटन गर्दै हिड्ने हो ? उनले प्रश्न गरे । उनले थपे ‘यसको निरुपण संसदले गर्नु पर्यो, अनि बल्ल व्यवस्था राम्रो हुन्छ, संसद राम्रो हुन्छ ।’

सम्बन्धित समाचार