कतै नेपालको कोरोना परीक्षणमै समस्या त छैन ?

विश्वका एक सय २५ देशमा फैलिसकेको कोरोना भाईरसको संक्रमण नेपालमा भने देखिएको छैन । नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका । धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै समस्या त छैन ?

नेपालमा हालसम्म चार सय ५० जनाको नमुना परीक्षण गरिएकोमा शूरुमै चीनबाट आएका एक नेपालीमा मात्र कोरोना भेटिएको थियो, उनको पनि उपचार भएको छ । अहिलेसम्म रिपोर्ट आएका चार सय ४९ मा कोरोना भेटिएको छैन ।



तर, संक्रमणको आशंकामा बिरामीलाई वेलावेलामा आइसोलेसनमा राख्ने गरिएको छ । अहिले पनि संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा चार र पाटन अस्पतालमा दुई व्यक्तिलाई भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए । उनीहरूको रिपोर्ट आइसकेको छैन ।

जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिएकामा धेरै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) देखिएको छ । प्रयोगशालाकी निर्देशक डा रुणा झा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछिन् । ‘मौसमी रुघाखोकीजस्तै कोरोना पनि लुक्ने रोग होइन । त्यस्तो रोग लागेमा लुकाउन सम्भव छैन, ल्याबमाथि पनि शंका गर्ने ठाउँ छैन,’ झाले भनिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको गुणस्तर कायम भए–नभएको हेर्न पहिलो पोजेटिभ केसलाई पनि हरेक ब्याचमा परीक्षण गरिरहेको छ । ‘ल्याबको गुणस्तर मापन गर्न सो ब्याच हरेक दिन परीक्षण हुन्छ । तर, त्यसबाहेक अन्य नमुनामा कोरोना पोजेटिभ आएको छैन,’ उनले थपिन् । चिकित्सकहरूका अनुसार कोरोना भए बिरामीको संख्या तीव्र गतिमा बढ्नुपर्छ । तर, यहाँ बिरामीको संख्या बढेको छैन । त्यसले पनि नेपालमा कोरोना नभएको स्पष्ट पार्छ ।

स्वास्थ्य अधिकारीहरूले रुघाखोकीको समय भएकाले मानिसहरूलाई सबै कोरोना हो कि भन्ने शंका लाग्नु स्वाभाविक रहेको बताउँछन् । बरु कसैमा कोरोना भाइरस संक्रमित भएको आशंका भएमा तत्काल खबर गर्न उनको सुझाब छ । ‘कोरोना भाइरस एक व्यक्तिबाट अन्य व्यक्तिमा तीव्र रूपमा सर्ने हुन्छ, तर नेपालमा अहिलेसम्म यसरी बिरामी देखिएको अवस्था छैन । त्यसैले नेपालमा कोरोना छैन भनेर स्पष्ट पार्न सकिन्छ,’ डा। झाले भनिन्, ‘कसैले परीक्षणमा आशंका गरेकै भरमा विश्वास दिलाउन रिपोर्टलाई पोजेटिभ बनाउन मिल्छ?’ निर्देशक झाले प्रश्न गरिन् ।

सम्बन्धित समाचार