विश्वका १२७ देशमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या ५ हजार नजिक

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ । भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने विहीबार एक जनाको मात्र मृत्यु भएको छ ।



संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।

कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

सम्बन्धित समाचार