१५२ देशमा फैलियो कोरोनाः कुन देशमा कतिले ज्यान गुमाए ?

कोरोना भाइरसको संक्रमणबाट १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ भने १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।

यद्यपी उपचारारत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६ जनाको मृत्यु हुँदा बाँकी ३ सय ९६ जनाको भने चीनबाहिर मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्ध लगाएका छन् ।



इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् ।स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ ।

यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।

युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि सबै क्षेत्रसँग सहयोगको अपिल गरेका छन् ।

अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाइएको थियो । बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि शुरु हुनेछ ।

सम्बन्धित समाचार