प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर १२ दिन अस्पताल बसेका प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए ।
‘प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकाल्न आउनुभएको हो । केही बेरमा फर्कनुहुन्छ,’ थापाले भने । गत फागुन २१ गते दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्य सुध्रँदो क्रममा छ । स्वास्थ्यको संवेदनशीलता संक्रमणको जोखिमका कारण केही दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने भए पनि प्रधानमन्त्रीकै जोडबलमा शुक्रबार डिस्चार्ज गरिएको थियो ।
मिर्गौला प्रत्यारोपितलाई राखिने पाइप (स्टेन्ट) निकालेपछि नियमित काममा फर्कन सहज हुने चिकित्सकले बताएका छन् । यद्यपि दुई महिनासम्म संक्रमणको उच्च जोखिम र ६ महिनासम्म बाहिरफेर, सार्वजनिक कार्यक्रममा सरिक हुन, भीडभाडमा जान नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।