सात वर्षअघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप्पड हान्ने एक युवक फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले बाग्लुङ राजकुटका पदम कुँवरलाई नियन्त्रणमा लिएको थियो ।
यसपटक भने उनलाई कसैलाई थप्पड हानेको अभियोगमा नभएर संसद भवन भित्र अनुमति विना प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । तर उनी किन संसद भवनभित्र छिरे भन्ने खुल्न सकेको छैन ।
‘छिर्न मन लागेर छिरेको भन्ने बयान दिएको छ । अरु कारण केही पनि देखिँदैन । थप अनुसन्धान गरिरहेका छौं’, महानगरीय प्रहरी वृतका डिएसपी दुर्गा रेग्मीले भने ।
प्रहरीको बयानमा कुँवरले ‘देशका ठुला मान्छे यही बस्छन् । दर्शन गर्न पाइन्छ कि भनेर छिर्न खोजेको’ मौखिक बयान दिएका छन् । कुँवरले २०६९ मंसीरमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएको बेला प्रचण्डलाई थप्पड हानेका थिए । सात वर्षअघि नेत्रविक्रम चन्द सयोजक रहेको वैद्य माओवादीको जन स्वयंसेवक ब्युरोका जिल्ला सदस्य रहेको खुलेको थियो ।