नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत्र ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको राजीनामा माग गरेका छन् । रिर्पोटस् क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन मोर्चाले मन्त्री अर्याल महोत्तरीको गौशाला क्षेत्रमा गएर विभिन्न माफियाको सहयोगमा सुकुम्बासीको घर भत्काएको भन्दै उनको राजीनामा माग गरेका छन् ।
‘मन्त्रीज्यूले सुकुम्बासीका घर भत्काउने काम नरोक्ने हो भने हाम्रा घर भत्काउने मन्त्रीका घर भत्काउन हामी पनि जान्छौं’ मोर्चाका अध्यक्ष कुमार कार्कीले भने । उनले अगाडि थपे ‘जनताका घरहरू भत्काएर मन्त्रीले नेपालको संविधानको समेत उलङ्घन गर्नु भएको छ । उनले जनतासामू माफी माग्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
सुकुम्बासी मोर्चा नेपालले अब सुकुम्बासी मुक्तिको अन्तिम आन्दोलन शुरू गर्ने र देशभरका सुकुम्बासीहरूको हातमा रातो लालपुर्जा दिलाएर छोड्ने अध्यक्ष कार्कीले बताए । मोर्चाले तीन चरणका आन्दोलन घोषणा गरेको जानकारी गराउँदै अध्यक्ष कार्कीले भने ‘पहिलो चरणमा उपत्यकाका सम्पूर्ण समुदायमा जनजागरण अभियान गर्ने, दोस्रो चरणमा सरकारप्रति लालपुर्जा दिनु भन्दै अनुरोध गर्ने र अन्तिम चरणमा संघर्ष कार्यक्रम र आन्दोलन गर्ने छौं ।’
सरकारले अहिले ल्याएको भूमि विधेयक आठौं संशोसधन २०७६ सुकुम्बासीको हक हितमा नभएको अखिल नेपाल संघका अध्यक्ष अमर परियारले बताए ।