कोरोना भाइरसको संक्रमण रोक्न सरकार जनमुखी योजनासहित अघि बढ्छ: उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न सरकार विभिन्न तवरले योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । पोखराका पर्यटन व्यवसायीको टोलीले सङ्घीय सरकारसँग रहेका समस्या समाधानका लागि बुझाएको ज्ञापनपत्र आज बुझ्दै मन्त्री पोखरेलले कोरोनाको वास्तविकता र भाबी सरकारको योजनाका बारेमा जानकारी दिए।

उनले सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले छलफलबाट आएको निष्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए । समस्याबाट नआतीकन सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने बताए। जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले सरकारलाई सबैको साथ र सहयोग अपरिहार्य रहेको औँल्याए ।



ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनाबद्ध रुपमा अघि बढिरहेको बताए । पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिबद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताए । पोखरा भ्रमण वर्ष २०२० का लागि मात्र नभई जहिले पनि विश्वभरबाट नेपाल आउने पर्यटकको गन्तव्यको रुपमा रहेको बताउँदै उनले व्यवसायीलाई परेको समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

कोरोना भाइरस चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उनले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउनेसमेत जानकारी गराए । कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ रु भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै उनले सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्योभन्दा बढी कति प्रभाव पार्छ रु त्यसलाई दृष्टिगतगरी गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारीमा सरकार रहेको जानकारी गराए ।

व्यवसायीले राखेको मागका सवालमा सकारात्मक रहेको उल्लेख गर्दै उनले सरकारलाई समेत सबैको साथ, सहयोग आवश्यक रहेको बताए । उनले मुलुकको आर्थिक, सामाजिक, पर्यटनलगायतका क्षेत्रहरुको विकास र समृद्धिका लागि प्रतिपक्षसँगको समेत सहकार्य गरी अघि बढिरहेको स्पष्ट पारे । उनले सरकारी, निजी सङ्घसंस्था, सरोकारवाला निकाय तथा मिडियाकर्मी सहकार्यमा सरकार जनताको समस्या तथा विकासप्रतिको चाहना पूरा गर्न तीव्र गतिमा अघि बढिरहेको बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको नेतृत्वमा आएको टोलीले आज सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै टोलीले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आपतकालीन अवस्था सिर्जना भएको उल्लेख गर्दै पर्यटन व्यवसाय धरासायी भएको स्पष्ट पारेको छ । बैंकबाट ऋण लिई लगानी गरेको जानकारी गराउँदै सो टोलीले मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा सङ्घीय सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीमा राहतको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

सम्बन्धित समाचार