कोरोना भाइरसको संक्रमण विश्वका १ सय ५५ देशमा फैलिएको छ भने ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय १५ पुगेको छ । सोमबारसम्म १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएको विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन् । हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।
स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा राखेर उपचार थालिएको जनाइएको छ ।
इरानमा २४ घण्टामा १ सय १३ जनाको मृत्यु भएको छ भने योसहित मृतकको संख्या ७ सय २४ पुगेको छ । इरानमा एकैदिन १२ सय ९ जनामा नयाँ संक्रमण देखिएको छ भने जम्मा १३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ । यही रफ्तारमा अमेरिका, बेलायत, फ्रान्समा पनि संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढिरहेको देखिन्छ ।