नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताए । सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गरे ।
नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भने, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहर छर्दै हिँड्छ । एउटाले फूलको रस बटुल्दै हिँड्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’
प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशील बनाउनुपर्ने बताए । कार्यकर्तालाई कम्युनिस्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उनले आग्रह गरे । आउँदो निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उनले आग्रह गरे ।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए । नेतृत्वको सफलता अथवा असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे ।