विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रमा ६४ वर्षीयको मृत्यु भएसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने तीनजना पुगेको बीबीसीले समाचारमा जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले स्वास्थ्य विभागले ताजा आकडा वेबसाइटमा अपडेट गरेको जनाएका छन् । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या एक सय २८ पुगेको छ जसमध्ये महाराष्ट्रमा मात्रै ३६ जना संक्रमित छन् ।
यसअघि मार्च १० मा कर्नाटकको कलबुर्गीमा ७६ वर्षे व्यक्तिको पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती व्यक्ति साउदी अरबबाट भारत फर्किएका थिए ।
त्यस्तै दोस्रो मृत्यु पश्चिमी दिल्लीका ६९ वर्षीयाको मार्च १३ मा भएको थियो । स्विट्जरल्यान्ड र इटलीबाट भारत फर्किएका ती महिलाका छोरामा संक्रमण फेला परेको थियो ।