कोरोना भाइरसका कारण पुरा विश्व तनावमय बनेको छ । विश्वभरका सयौं चर्चित शहरमा लक डाउन गरिएको छ । हजारौ शहरमा यातायात रोकिएको छ । ठूला ठूला एयरपोर्ट समेत बन्द भएका छन् । मानिसहरु यात्रा गर्न छाडेका छन् । कैयौं मानिस संक्रमणको डरका कारण घर बाहिर समेत निस्किन छाडेका छन् । अधिकाशं ठूला ठूला अन्तर्राष्ट्रिय सेमिनार, कार्यक्रम, खेल, बैठक लगायतका धेरै कार्यक्रम समेत रद्ध भएका छन् । तर यी सबैका कारण अझ भनौं कोरोनाका कारण सबैभन्दा बढी क्षति कसलाई भएको होला ?
कोरोना संक्रमणले विश्वभर महामारीको रुप लिदाँ यसको सबैभन्दा बढि क्षति पर्यटन क्षेत्रमा भएको छ । पर्यटन व्यवसायमा आवद्ध विश्वभरका करिब ५ करोड मानिस कोरोना भाइरसका कारण बेरोजगार बन्ने भएका छन् । वर्ल्ड ट्राभल एण्ड टूरिजम काउन्सिल (WTTC) को सुचनालाई आधार मानेर ब्लूमबर्ग इकोनोमिक्स दिएको जानकारी अनुसार अहिले सयौं विमान ग्राउण्डेड भएका छन् । दर्जनौ पानी जहाज बन्द भएका छन् ।
डब्लुटीटीसीका म्यानेजिंग डाइरेक्टर वर्जिनिया मेसिनाका अनुसार सन् २०२० मा जोडिएका २५ प्रतिशत बुकिगं क्यान्सिल भइसकेका छन् । जसका कारण पर्ययन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो । जानकारी अनुसार यसरी बुकिगं क्यान्सिल भए पश्चात टुर एण्ड ट्राभल कम्पनीहरु डुब्ने संघारमा छन् ।
डब्लुटीटीसीका अनुसार यस रोगको कारण विश्वभर पर्यटन क्षेत्रमा कार्यरत १६ प्रतिशत मानिसको रोजगारी खोसिने छ । अर्थात कोरोना भाइरसका कारण करिब ५ करोड मानिसको रोजगार खतरामा परेको छ ।
सन् २०१८ मा जारी भएको पर्यटन तथ्यांक अनुसार विश्वभर ३१९ मिलियन अर्थात ३१ करोड भन्दा बढी मानिस पर्यटन क्षेत्रमा कार्यरत थिए । वर्जिनिया मेसिनाका अनुसार पर्यटन क्षेत्रमा सबैभन्दा बढि क्षति बेहोर्ने कम्पनी र ब्यक्तिहरु चीनका पर्यटकीय क्षेत्र वा स्थलमा लगानी लगाउनेहरु रहेका छन् ।
डब्लुटीटीसीको अध्ययन अनुसार कोरोना भाइरसका कारण पर्यटन उद्योगमा ९० भन्दा बढि समस्या आउने छ । जसबाट उकासिन पर्यटन क्षेत्रलाई अब करिब १० महीना भन्दा बढी समय लाग्नेछ ।