वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको भन्ने अभिव्यक्तिमाथि आशंका उब्जिएको बताएका छन् । उनले नेपालमा कोरोनाको आशंका गरिएका कुनै पनि व्यत्तिमाथि परीक्षण नभएको समेत आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो, ठिक भैसक्यो, नेपालमा त कोरोना भाइरस छँदै छैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’
डा. दीक्षितले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरेका छन् । उनले सरकारसँग भएका केही किटहरु भीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाएका छन् ।