प्रदेश २ को प्रस्तावित नाम ‘मधेश’ पनि अस्वीकृत

प्रदेश २ को नामाकरणको लागि प्रदेशसभामा विभिन्न चार वटा नाम प्रस्ताव भएकोमा मंगलबार गोप्य मतदान हुँदा सबै प्रस्ताव अस्वीकृत भएको छ । सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ पनि अस्वीकृत भएको छ । १०७ सदस्य रहेकोमा कुनै पनि प्रस्ताव पारितको लागि कम्तीमा दुई तिहाई अर्थात् ७२ जनाको समर्थन आवश्यक थियो । ‘मधेश’ को पक्षमा ६० मत खसेको छ भने एक मत बदर र ४६ वटा मत विपक्षमा परेको छ ।

नेकपा र कांग्रेससहित दलले ल्याएका तीन वटा प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नेकपा र कांग्रेसले आ आफ्ना सांसदहरुलाई कडाइका साथ ‘मधेश’ को विपक्षमा मतदान गर्न लगाएका थिए ।



नेकपाले त ‘मधेश’ को लागि मतदान हुनु अघि संसदीय दलको बैठक बसेर दलका सांसदहरुलाई पार्टीको झण्डा छुन लगाएर विपक्षमा मतदान गर्न ‘कसम’ नै खुवाएको एक सांसदले बताए ।

मधेश प्रस्ताव ल्याउने समाजवादी पार्टी र राजपाको क्रमशः ३० र २५ गरी जम्मा ५५ सदस्य छन् । प्रतिपक्षमा रहेका नेकपा र कांग्रेसको क्रमशः ३२ र १९ गरी ५१ सदस्य छन् ।

सम्बन्धित समाचार