कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका प्रयासहरु भइरहेपनि सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन ।
जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १ लाख ९७ हजार ७ सय ९४ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने ७ हजार ९ सय ४४ को मृत्यु भएको छ । अहिलेसम्म चीनमा सबैभन्दा बढी ३ हजार २ सय ४१ जनाको मृत्यु भएको छ भने ८१ हजार ७४ जनामा संक्रमण देखिएको छ । त्यस्तै इटलीमा २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने ३१ हजार १ सय ६९ जना संक्रमित रहेका छन् ।
त्यसपछि इरानमा ९ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने १६१६९ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा ५ सय ३३ जनाको ज्यान जाँदा ११,८२६ जनामा संक्रमण देखिएको छ ।
जर्मनीमा २६ जनाको मृत्यु हुँदा ९,३६० जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कोरोना संक्रमणका कारण ८४ जनाले ज्यान गुमाएका छन् भने ८,४१३ जना संक्रमित देखिएका छन् ।
फ्रांसमा १४८ जनाले ज्यान गुमाउँदा ७,६६९ जनामा संक्रमण देखिएको छ । स्विटजरल्याण्डमा २७ जनाको मृत्यु हुँदा २,७०० जनामा संक्रमण देखिएको छ ।