निर्भया प्रकरणका चारै दोषीको आज अन्तिम दिन, भोलि बिहानै दिइनेछ मृत्युदण्ड

निर्भयाको बलात्कारपछि हत्या भएको १६ डिसेम्बर २०१२ को रातदेखि आजसम्म ७ वर्ष ३ महिना र ३ दिन बितिसकेको छ । उनलाई बलात्कार गर्ने चारै दोषी– मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले मृत्युदण्ड रोक्न विभिन्न तरिका अपनाए र अन्तिम दिनसम्म पनि यही कसरतमा छन् । मृत्युदण्डको दुई दिनअघि मात्रै दोषी अक्षयकी श्रीमती पुनिताले बिहारको औरंगाबाद जिल्लाको अदालतमा सम्बन्धविच्छेदको निवेदन दिइन् । उनले ‘म विधवाको रुपमा बाँच्न चाहन्नँ त्यसकारण मृत्युदण्ड अघि कानूनी रुपमा हाम्रो सम्बन्धविच्छेद होस्’ भन्दै सम्बन्धविच्छेदको माग गरिन् ।

उनको यो निवेदनपछि प्रश्न यो उठ्छ कि दोषीको मृत्युदण्डको सजायँ यसपटक पनि रोकिएला ? यसको जवाफ हो ‘रोकिँदैन’ । एक भारतीय सञ्चार माध्यमले ३५ वर्षसम्म तिहाड जेलमा कानूनी अधिकारीको रुपमा कार्यरत सुनिल गुप्ता र वरिष्ठ वकिल उज्ज्वल निकमले सम्बन्धविच्छेद ‘सिभिल मामला’ मा आउने र मृत्युदण्ड ‘क्रिमिनल मामला’ मा आउने भएकोले क्रिमिनल मामलामा सिभिल मामलाले असर नगर्ने जानकारी दिएका छन् । त्यसकारण मार्च २० तारिख बिहान साढे ५ बजे निश्चित भएको मृत्युदण्ड रद्द हुने सम्भावना शून्य बराबर छ ।



सम्बन्धविच्छेदको मामला विचाराधीन भएका कारण दोषीले डेथ वारेन्टको मिति अघि सार्न वा रद्द गर्न अपिल गर्नसक्छन् रु यो प्रश्नको जवाफमा सुनिल र उज्ज्वल निकमले भने, ‘दोषीले के गर्लान् त्यो उनीहरुमा नै निर्भर हुन्छ तर यदि दोषीले निवेदन दिइहाले पनि अदालतले अब उनीहरुको मृत्युदण्ड रोक्न सक्दैन ।’

उज्ज्वल निकमका अनुसार अक्षयकी श्रीमतीले मृत्युदण्ड रोकियोस् भनेर सम्बन्धविच्छेदको निवेदन दिएकी हुन् । तर कानूनले सम्बन्धविच्छेदका कारण दोषीको मृत्युदण्ड रोक्न सक्दैन । यसर्थ निर्भया प्रकरणका ४ जना दोषीको आज अन्तिम दिन भएको अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचार