२४ घण्टामा एक लाख बढी मानिस काठमाडौंबाट बाहिरिए

शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाडौं छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाडौंका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाडौं भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डौ आएका छन् । यो बुधबारको भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।



कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण काठमाण्डौ उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो ।

सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै आउँदो बिहिबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिएको छ । विभागले सूचना निकालेर कोरोना भाइरसको जोखिमका कारण लाइसेन्सको नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिए पनि नविकरण तथा प्रतिलिपि दिने काम भने नियमित हुने जनाएको हो ।

यस्तै लामो तथा छोटो दुरीका गाडीमा सिट क्षमताभन्दा एक जना पनि बढी यात्रु नराख्न र सिट खाली नभए गाडीमा नचढ्न र यात्रा गर्दा अनिवार्य मास्क लगाउन यात्रुलाई अनुरोध गरेको छ । यसैगरी उपत्यकाबाहिर जाने यात्रुलाई बसपार्क र नाकामा रहेका हेल्थ डेक्समा आफ्नो शरीरको तापक्रम नापेर गाडी चड्न पनि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार