कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि नेपाल र चीनबीच भिडियो कन्फरेन्स हुने भएको छ । शुक्रबार (आज) हुने भिडियो कन्फरेन्समा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।
चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । अहिले चीनले इटाली, स्पेन र फ्रान्सलाई आवश्यक सामग्री र चिकित्सक पठाएर सहयोग गरिरहेको छ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ।