कोरोना भाइरस नियन्त्रणमा सरकारको अकर्मण्यता !

नोभेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या कम्तीमा १० हजार पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर दुई लाख ४४ हजार ५०० संक्रमित भएको बताइएको छ । चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको नोभेल कोरोना भाइरस हाल विश्वभरका करिब १८० मुलुकमा फैलिसकेको छ ।

हाल विश्वभरमा इटाली सबैभन्दा बढी प्रभावित भएको छ । इटालीमा तीन हजार ४०५ जनाको मृत्यु भइसकेको इटालियन नागरिक सुरक्षा नियोगले जनाएको छ । यो संख्या चीनमा भन्दा १५६ जना बढी हो । चीनमा हालसम्म तीन हजार २४९ को मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेका चार करोड मानिसहरूलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिएको छ ।



कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’ अर्थात् पेन्डेमिकको सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका प्रयासहरू भइरहेपनि संक्रमण र त्यसबाट हुने मृत्यु भने रोकिएको छैन । यसको बदला यो दिन दुई गुणा रात चौगुणको दरले फैलिएको छ ।

यसरी संसारभरि कोरोनाले तहल्का मच्चाउँदै गर्दा नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ । केही झाडा टार्ने कदमहरूबाहेक अरू ठोस कदम केही चालेको छैन । अधिकांश विदेशबाट आउने प्लेनहरू आजदेखि रोकिए पनि चाइना सदर्न, सिंगापुर, थाइल्याण्डजस्ता कोरोना प्रभावित राष्ट्रबाट प्लेनहरू आइरहेकै छन् । एयरपोर्टको हेल्थ डेस्क त्यति प्रभावकारी छैन । थर्मल स्क्यानर बिग्रिएको छ । विदेशबाट आएका यात्रुहरूको ज्वरो नाप्ने मात्र काम गरेर झाडा टार्ने काम गरिएको छ । सरकारमा रहेका व्यक्तिहरूको लापरवाही त यसबाट प्रष्ट हुन्छ कि चीनमा कोरोनाको संक्रमण भएको बेला विश्वका तमाम राष्ट्रले चिनियाँहरुलाई आफ्नो देशमा आउन प्रतिबन्ध गरेको अवस्थामा पर्यटन मन्त्री योगेश भट्टराईले चीनमा गएर नेपाल भ्रमण वर्षको प्रचार गर्ने जस्तो गैह्रजिम्मेवार कार्य गरेका थिए । त्यस्तै उनले नेपाल कोरोनामुक्त छ भनेर चिनियाँहरुलाई नेपाल आउन आव्हान गरेका थिए । उनको यस्तो कार्यलाई सामाजिक अभियन्ता डा.सुन्दरमणि दीक्षितले मन्त्री योगेशको भनाई ‘आओ चिनियाँ, हामीलाई खाओ’ भने जस्तै हो भनेर टिप्पणी गरेका थिए ।

अहिले कोरोनाले सारा संसार ढाकिसक्यो तर नेपालमा हालसम्म देखिएको छैन । यसलाई पशुपतिनाथको कृपा भनौं वा संयोग भनौं ? हालसम्म टेकुको प्रयोगशालामा लगभग ५०० जनाको कोरोना परीक्षण भैसकेको छ र केवल एकजनामा मात्र कोरोना पोजिटिभ देखिएको थियो र उनी पनि अहिले ठीक भएर आफ्नो नियमित काममा फर्किसकेका छन् । विश्वभरि फैलिंदा नेपालमा नफैलिनु त राम्रो हो तर यसमा प्रश्न गर्ने ठाउँ पनि प्रशस्त छन् । यदि पूर्व सुरक्षा अपनाएर, लक डाउन गरेर, एयरपोर्ट, सार्वजनिक यातायात बन्द जस्ता सावधानीहरू अपनाएर नफैलिएको भए विश्वास गर्ने ठाउँ हुन्थ्यो तर पूरा हेलचेक्र्याइँका साथ संक्रमित क्षेत्रबाट पनि मानिसहरू आइरहेका, चिनियाँहरू पनि आइरहेका अवस्थामा कोरोना नफैलिनु भनेको पक्कै पनि आश्चर्यजनक कुरा हो । डा. सुन्दरमणि दीक्षित त यसलाई अवैज्ञानिक मान्दछन् । उनका अनुसार नेपालमा कोरोना परीक्षण गर्ने कीट नै छैन । केही कीट होला तर त्यो पनि भीआईपीको लागि छुट्याएर राखिएको छ । उनी भन्छन्, ‘घर छैन भने आगलागी कहाँ हुन्छ, बिरामीको जाँचै गरिएको छैन, अनि कहाँबाट देखिन्छ त कोरोना ? सरकारले चरम लापरवाही गरेको छ । यो सरकारको कुनै भरोसा छैन । केवल भगवान वा प्रकृतिको आशा छ कि गर्मी लाग्दै गएपछि विस्तारै यो कम हुन सक्छ कि ।’

कोरोनासँग जुध्ने सम्बन्धमा सरकारको तयारी कत्ति पनि प्रभावकारी छैन । एउटा विदेशीलाई कोरोना संक्रमण हुने बित्तिकै भुटानले देशमा आउने सम्पूर्ण प्लेनहरूलाई प्रतिबन्ध लगायो र जनतलाई निःशुल्क रूपमा मास्क र सेनिटाइजर बाँड्यो । सुडान जस्तो राष्ट्रले पनि एक दुई जनामा संक्रमण देखिने बित्तिकै आफ्नो देशमा आउने सम्पूर्ण प्लेनहरूमा प्रतिबन्ध लगायो । धेरै जसो राष्ट्रले आफ्ना पर्यटकीय क्षेत्र भनेर कहलिएका शहरहरूलाई लक डाउन गरेका छन् । कुनै राष्ट्र धनी छ भने कोरोनाले नछुने भन्ने पटक्कै हुँदैन । अमेरिका विश्वकै शक्ति सम्पन्न राष्ट्र हो भने इटाली, फ्रान्स, जापान, कोरिया धनी राष्ट्रहरू हुन् र त्यहाँको स्वास्थ्य प्रणाली नेपालको भन्दा निकै राम्रो छ । तर पनि उनीहरू कोरोनासँग जुध्न सकिरहेका छैनन् ।

इटालीको स्थिति नियन्त्रण बाहिर गएको छ । इटालीमा व्यक्तिको प्रतिव्यक्ति आय ३२, ९४७ डलर प्रतिवर्ष छ जब कि नेपालीको प्रतिव्यक्ति आय १,०४८ डलर छ । इटालीयनहरूसँग पैसा त अथाह छ तर कोरोनालाई उनीहरूले रोक्न सकेका छैनन् । श्रीलंकाले पनि मार्च १७ देखि विदेशबाट आउने सम्पूर्ण प्लेनहरू माथि प्रतिबन्ध लगाएको छ । तर नेपालले अहिलेसम्म पनि एयरपोर्ट पूर्ण रूपमा बन्द गर्न सकेको छैन । यदि यहाँ इटाली वा चीनको जस्तो स्थिति भयो भने यहाँ हजारौं मानिसको ज्यान जाने निश्चित छ । न सरकार सम्भावित दुर्घट्नाप्रति सचेत छ, न त जनता नै जागरूक छन् । सरकारमा बस्नेहरू अरू नै खेलमै मस्त छन् ।

भारतमा कोरोना तीव्र रूपमा फैलिदै गइरहेको छ । भारतबाट सुदूरपश्चिमाञ्चल, परासी लगायतका नाकाबाट नेपाली विद्यार्थीहरू घर फर्किरहेका छन् । त्यहाँ उनीहरूको स्वास्थ्य जाँच गर्ने अवस्था त्यति प्रभावकारी छैन । उपत्यकामा त कोही कोरोना संक्रमित भए भने उपचार पाउलान् तर उपत्यका बाहिर डाक्टरहरु पनि कोरोनाको आंशका लागेका बिरामीहरुलाई चेकजाँच गर्न डराइरहेका छन् । नेपाल भारत सम्पूर्ण नाका केही हप्ताको लागि पूर्ण रूपमा बन्द गरिनुपर्दछ, त्यसैगरी नागरिक उड्डयन प्राधिकरणका अनुसार बैंककको थाई एयर, चीनका एयर चाइना, चाइना साउर्दन र चाइना इस्टर्न तथा सिंगापुरको सिल्क एयरका उडान नियमित छन् । यसरी हेलचेक्रयाई गर्नु पक्कै पनि बुद्धिमानी होइन । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन थापाले पनि नेपाल भारत सम्पूर्ण नाका केही समयको लागि पूर्ण रूपमा बन्द गर्नुपर्दछ भनेका छन् ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, “यदि कसैले पनि कोरोना भाइरसले हामीलाई चाहिँ छुँदैन भन्ने ठान्नु मृत्यु ‘मूर्खता’ हो र त्यसै गरी धनी राष्ट्रहरूले आफु सुरक्षित रहेको ठान्नु अर्कों पटमूर्खता—कुनै पनि बेला यसले तीन छक्क पार्ला !’ डब्ल्युएचओले अहिले चीनबाट शुरु भई युरोपमा तीब्र रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिले दक्षिण–पूर्वी एशियाका देशमा फैलने क्रम बढेको जानकारी गराउँदै बेलैमा सचेत हुन आग्रह गरेको छ । कोरोनाविरुद्ध लड्न आफूलाई समयमै तयार अवस्थामा नराखे दक्षिण–पूर्वी एशियाका देशमा संकटको अवस्था सिर्जना हुनसक्ने समेत डब्ल्युएचओले चेतावनी दिएको छ ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन सावधानी बढाउनु पर्ने बताएकी छन् । यो संक्रमण थप विस्तार हुन नदिन राष्ट्रिय तथा समूदायस्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले औंल्याएकी छन् ।

डब्ल्यूएचओ दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखिएको छ । तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ र यसबाट सबैभन्दा बढी थाइल्याण्डमा कोरोनाबाट संक्रमित भएका छन् भने इन्डोनेसिया, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, र भुटान पनि संक्रमित भेटिएका छन् ।
यस्तै नेपाल र भुटानमा १–१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ । तर, नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले जनाएको छ ।

जर्मन कवि मार्टिन नमोरको एउटा कवितालाई नयाँ भर्सनमा ल्याउँदा अहिलेको नेपालको सन्दर्भमा मिल्दोजुल्दो देखिन्छ–
पहिले चीनमा आयो : मैले वास्ता गरिनँ किनकि म चिनियाँ थिइनँ
त्यसपछि इटालीमा आयो : मैले वास्ता गरिनँ किनकि म इटालियन थिइनँ
त्यसपछि अमेरीकामा आयो : मैले वास्ता गरिनँ किनकि म अमेरिकी थिइनँ
त्यसपछि छिमेकी देश भारतमा आयो : मैले वास्ता गरिनँ किनकि म भारतीय थिइनँ
त्यसपछि आफ्नो देशको पराई शहरमा आयो : मैले वास्ता गरिनँ किनकि मेरो शहरमा आएको थिएन
त्यसपछि आफ्नो टोल–छिमेकमा आयो : मैले वास्ता गरिनँ किनकि मेरो घरमा आएको थिएन
अन्ततः ऊ मेरो घरमा नै छिर्यो–अनि त्यति बेला मलाई जोगाउने कोही पनि जीवित थिएनन् !

सम्बन्धित समाचार