वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका तीन नेपालीका कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भेटिएको छ । उनीहरुमा कोरोनाको संक्रमण भेटिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ’, बहराइनस्थित नेपाली दूतावास स्रोत भन्छन, ‘हामी विस्तृतमा सोधखोज गरिरहेका छौं । केही समयपछि विस्तृत विवरण आउने छ ।’
बहरानमा हाल करिब ३५ हजार नेपाली कार्यरत छन् । उनीहरु अधिकांश वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका हुन् । बहराइन जान भनेर हिंडेका ३० नेपालीलाई यसअघि युएईले नेपाल फर्काइ दिएको थियो । युएईमा दुई जना नेपालीलाई कोरोना संक्रमण देखिएको केही समयपछि उनीहरु फर्काइएका थिए ।
यसअघि अष्ट्रेलिया र पोर्चुगलमा पनि एक–एक जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार बहराइनमा हालसम्म ३०१ जना कोरोना भाइरस संक्रमित देखिएका छन् । संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।