वीरगन्जका एकजनामा देखियो कोरोना भाइरस, परिवार आइसोलेसनमा

वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

‘संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,’ बस्नेतले भने, ‘उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।’ ती व्यक्तिबाहेक अरुमा संक्रमणको पुष्टि नभएको उनले जानकारी दिए ।



स्रोतका अनुसार कोरोनाको आशंका गरिएपछि ती बिरामीलाई पर्साको कुनै पनि अस्पतालले लिन मानेका थिएनन् । त्यसपछि उनलाई उपचारका लागि पटना लगिएको थियो । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए ।

सम्बन्धित समाचार