संसदीय समितिमा लिपुलेक र एमसीसीको चर्चा

चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ । प्रस्तावित राजदूतको नाम सिफारिस गर्न बसेको संसदीय सुनुवाइ समितिमा सांसदहरुले लिपुलेक र एमसीसीका विषयमा प्रश्न गरेका थिए ।

सांसद जितेन्द्र नारायण देवले राजनीतिक र आर्थिक रुपमा प्रतिस्पर्धा गरिरहेका चीन र अमेरिकाबीचको सम्बन्ध कसरी सन्तुलित बनाउनुहुन्छ भन्दै प्रश्न गरे। चीनले अघि सारेको बीआरआई र अमेरिकाले अघि सारेको एमसीसीले दुई देशबीचको प्रतिस्पर्धा सतहमा देखिएको उल्लेख गर्दै उनले यी दुई देशबीच सन्तुलन मिलाउनुपर्ने अवस्था आएमा के गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।



सांसद पुष्पा भूसालले सन् २०१५ मा नेपाललाई बेवास्ता गर्दै भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएको स्मरण गराउँदै लिपुलेकलाई त्रिपक्षीय ‘जक्सन’ का रुपमा सम्झौता गर्न कसरी अगाडि बढ्नुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

बैठकमा अन्य सांसदहरुले नेपालले चीनबाट सिक्नुपर्ने कुरा, नेपाल चीनको व्यापार सम्बन्ध कसरी अगाडि बढाउने नेपालको पर्यटन, सामाजिक आर्थिक विकासका लागि चीनले गर्न सक्ने सहयोगका विषयमा जिज्ञासा राखेका थिए ।

जवाफमा प्रस्तावित राजदूत पाण्डेले एमसीसीको विषयमा आफूले समितिमा जवाफ दिनुपर्छ भन्ने नलागेको बताए । कुनै पनि देशको प्रतिस्पर्धी देशहरुको बीचमा नेपाल परेर आफू विवादास्पद बिन्दुमा उभिन नहुने उनले बताए ।

सम्बन्धित समाचार