भरतपुरको कोरोना विशेष अस्पतालमा उपचाररत विरामीको मृत्यु

रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक छन् । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोना विशेष अस्पतालमा रेफर गरी आइसोलेसन वार्डमा राखिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनको नमूना समेत संकलन गरिएको थियो । संकलन गरिएको नमूना सोमबार काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण रहे नरहेको विषयमा भने पुष्टि हुन बाँकी छ । कोरोना विशेष अस्पताल स्रोतले युवकको मृत्यु भएको जानकारी दिए पनि अस्पतालले भने आधिकारिक रुपमा यसको पुष्टि गरेको छैन ।



भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले पनि घटनाको पुष्टि हुन बाँकी रहेको बताए । ‘केही व्यक्तिले यस्तो भएको भनेर भनिरहेका छन् । तर, हामीलाई औपचारिक रुपमा कोरोना विशेष अस्पतालमा कसैको मृत्यु भएको भनेर जानकारी आएको छैन,’ भण्डारीले भने ।

सम्बन्धित समाचार