कोरोना सङ्क्रमित खोज्न जाने क्रममा गाडी र एम्बुलेन्सका चालक भागाभाग

कोरोना भाइरसबाट सङ्क्रमित युवतीसँगै हवाई जहाज चढेर आएका स्याङ्जाका ६ जनालाई खोज्न पठाउँदा गाडी र एम्बुलेन्सका चालकको भागाभाग भएपछी प्रजिअ रामबहादुर कुरुम्बाङ आफैँ उनीहरुको खोजीमा निस्किएका छन् । गृह मन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम र नागरिकता नम्बर मात्रै थियो । ‘त्यसपछि हामीले उनीहरुको विवरण खोज्न थाल्यौँ,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘६ जनाको विवरण खोजेर सम्पर्क गर्दा उनीहरु सबैतिर छरिएका पायौँ । त्यसपछि हामी उनीहरुलाई क्वरेण्टीनमा ल्याउन सक्रिय भयौं ।’

उनीहरुको खोजबिन चलिरहेकै बेला टक्सारमा रहेका एक यात्रुलाई जब लिन जानुपर्ने अवस्था आएपछि स्याङ्जा सदरमुकाममा रहेका सरकारी गाडी र एम्बुलेन्सका चालक भागाभाग भए । गाउँमा रहेका यात्रुलाई लिन जान कोही तयार भएनन् ।



प्रजिअ कुरुम्बाङसँगै रहेका जिल्ला रेडक्रसका पदाधिकारीले भने, ‘उहाँले यति छिटो र सहज रुपमा निर्णय गर्नुभयो कि गाउँमा रहेको यात्रु ल्याउन प्रजिअसँग मलाइ नै जानुपर्ने भयो ।’

रेडक्रसका पदाधिकारीले थपे, ‘हामी हेरेको हेर्यै भयौं । किनभने सवारी थिए तर चालक कोही थिएनन् । सबै गायब भइसके । रेडक्रसमा लागेर वर्षौसम्म सेवा गरिसकेको व्यक्ति भएकोले मैले प्रजिअसँग गएर सहयोग गर्ने निर्णय गरें ।’

गाउँ जान नमान्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका सवारी चालकलाई प्रजिअ कुरुम्बाङले कारबाही गर्न निर्देशन दिएका छन् । उनले सवारी चालकलाई भोलिदेखि काममा नआउनू भन्दै कुरुम्बाङले चालकविरुद्ध कारबाही प्रक्रिया सुरु गर्न कोलेनिकाका प्रमुखलाई निर्देशन दिए । सेवाबाट भाग्ने अन्य सवारी चालकलाई समेत कारबाही गरिने प्रजिअ कुरुम्बाङको भनाइ छ ।

सम्बन्धित समाचार