कोरोना भाइरसका कारण ५१ जना डाक्टरको निधन

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देशमा पर्छ इटाली । संक्रमितको संख्या अमेरिकामा भन्दा कम भए पनि इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या विश्वमै सबैभन्दा धेरै छ ।

अहिलेसम्म इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट ९ हजार १३४ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कोरोना भाइरस संक्रमितको जीवन रक्षाका लागि खटिएका चिकित्सकहरु पनि छन् ।



महामारी फैलिएयता इटालीमा कोरोना भाइरसका कारण कम्तिमा ५१ जना चिकित्सकको मृत्यु भएको इटालियन एसोसियसन अफ डक्टर्सले जनाएको छ । एसोसिएसनका अध्यक्ष फिलिप्पो एनेलीले बिहीबार चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुका लागि पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट ९पिपिई० को तत्काल आवश्यकता रहेको बताएका थिए ।

त्यसको भोलिपल्ट शुक्रबार एसोसियसनले कोरोना भाइरस विरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ मा खटिएका ५१ जना डाक्टरको निधन भइसकेको जानकारी दिएको हो । कोभिड–१९ का कारण निधन भएका ५१ जना इटालियन डाक्टर मध्ये ३२ जना लोम्बार्दी क्षेत्रमा कार्यरत रहेको जनाइएको छ । इटालीको उत्तरी क्षेत्र लोम्बार्दी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित छ ।

यसैबिच परिस्थिति थप संकटपूर्ण बन्दै गएका बेला विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले संक्रमितको जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभाव गम्भीर बनेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट ९पिपिई० उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका छन् ।

यस्तै उनले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन् । जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वभर भइरहेको पिपिईको अभाव अहिलेको सबैभन्दा ठूलो र तात्कालीक चुनौति हो । यसले गर्दा जीवन रक्षा गर्ने हाम्रो संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको छ ।’

डा. टेडरोसले भने, ‘कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्छ ।’

सम्बन्धित समाचार