सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै महानगर

काठमाडौं महानगरपालिकाले विपत्को समयमा सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्ने भएको छ । यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् । तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि भोकै छन् । तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औं कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रमुख शाक्यले भने, “राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई रु चार लाख, मझौला वडालाई रु तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।”



त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत पनि गरेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणको कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको प्रमुख शाक्यको भनाइ छ ।

सम्बन्धित समाचार