दोस्रो, पाँचौं र छैठौं संक्रमितबीच कतारको ट्रान्जिटमा कोरोना संक्रमण सरेको आँकलन

नेपालमा कोरोना भाइरस संक्रमित छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ । यसअघि पाचौं संक्रमित युवती पनि बागलुङकै थिइन् । छैठौं संक्रमित ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् । उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आएकी थिइन् ।

कान्छा छोरालाई भेट्न बेल्जियम गएकी उनी बेल्जियमबाट नेपाल फर्कने क्रममा बागलुङकै संक्रमित युवतीसँग कतार आएपछि ट्रान्जिटका बेला दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँग भेटघाट भएको खुलेको छ ।



स्वास्थ्य अधिकारीहरुले दोस्रो संक्रमित, पाँचौं संक्रमित र छैठौं संक्रमितबीच कतारको ट्रान्जिटमा भएको भेटवार्ता नै कोरोना संक्रमण भएको हुनसक्ने आँकलन गरिरहेका छन् । ६५ वर्षीया संक्रमित महिलाले आफूलाई काठमाडौं र बागलुङकै युवतीले नेपाल आउनलाई सहयोग गरेको बताएकी आफन्तले बताउन थालेका छन् ।

बानपा–३ की यी महिलामा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । उनलाई बागलुङ अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म संक्रमण देखिएका नेपालीहरु कतार र यूएईबाट आएका भएकाले उनीहरुसँगै जहाजमा आएका सबैलाई जसरी भए पनि सम्पर्कमा ल्याउने तयारी थालेका छन् ।

सम्बन्धित समाचार