लकडाउनको प्रभाव : भैंसीको दूध भैंसीलाई नै खुवाउनुपर्ने बाध्यता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैंसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैंसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ ।

अठार वर्षदेखि व्यावसायिकरूपमा भैंसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर बढी दूध खेर गएको दुःखेसो पोखे । सत्र वटा भैंसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले २५० लिटर बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताए ।



बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर बढी दूध दैनिकरूपमा खेर जाने गरेको उनले बताए । “केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिनाइ छ, विक्री नहुने दूधलाई पाडापाडी र भैंसीलाई नै खुवाउने गरेको छु”, पौडेलले भने ।

कृषकहरुले आफूले उत्पादन गरेको दूधलाई बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर १२० रुपैयाँमा बिक्री गर्दै आएका छन् । व्यावसायिकरूपमा गाईभैंसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । “मेरो फार्ममा एउटा गाई र नौ भैंसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु, आधा पनि खपत हुन्न, बाँकी दूध भैंसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ”, उनले भने ।

बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभैंसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताए ।

सम्बन्धित समाचार