कोरोना भाइरसको आतंकका कारण अहिले विश्वका धेरै देशमा संकटको अवस्था छ । मुलुकहरू लकडाउनमा पुगेका छन् र धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्यधिक मात्रामा खरीद गरेर घरमा सञ्चय गरिरहेका छन् ।
पश्चिमा मुलुकहरूमा बजारमा ट्वाइलेट पेपरको अभाव देखिएको छ । मानिसहरूले ट्वाइलेट पेपर यतिधेरै खरीद गरिरहेका छन् कि सुपरमार्केटहरूमा बरु खानेकुरा पाइन्छ, तर ट्वाइलेट पेपर रित्तिइहाल्छ । कोरोनाका कारण मानिसहरूले सामान्य अवस्थामा भन्दा धेरै किनमेल गरेर घरमा सामान थुपार्ने प्रवृत्ति सबै देशमा समान देखिन्छ । तर त्यसरी बढी मात्रामा खरीद गरिएका सामानहरूको देशगत भिन्नता भने रोचक छ ।
नेदरल्याण्डमा बजारमा गाँजाको किनमेल ह्वात्तै बढेको छ भने फ्रेन्चहरूले अत्यधिक मात्रामा रेड वाइन किनेका छन् । उता इटालियनहरूले भने चुरोट बढी किनिरहेका छन् । त्यस्तै, अष्ट्रियनहरूले चाहिँ पिठो र ट्वाइलेट पेपर बढी मात्रामा खरीद गरेका छन् ।
उल्लेखित उपभोग्य सामानहरूको खरीद प्रवृत्तिमा देशगत रूपमा भिन्नता भए पनि एउटा चिजको खरीद भने विश्वभर नै बढेको छ । कोरोनाका कारण सबैजसो देशमा उच्चदरमा बिक्री भएको चिज हो, सेक्स टोय अर्थात् यौन खेलौना ।
जब दैनिक आधारभूत आवश्यकता पूरा हुन्छ, तब मानिसहरू मनोञ्जनतर्फ आकर्षित हुन्छन् । जब सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने कुरा कोरोना कारण बन्द हुन्छ तब अविवाहित मानिसहरूसँग मनोरञ्जनको विकल्प सीमित हुन्छ । त्यसैले पनि होला घरभित्रै थुनिइरहेको बेला मन बहलाउन वा मनोरञ्जन प्राप्त गर्नका लागि मानिसहरूले सेक्स टोयको प्रयोग बढेको छ ।
अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेको छ । क्यानडामा सेक्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको मुलुक इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएको छ । एजेन्सी