धनकुटाको साँगुरीगढी–६ स्थित कोल्बोटो जङ्गलमा भीषण आगलागी भएको छ । आइतबार १ बजे दिउँसोबाट सुरु भएको आगलागी २४ घण्टा वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणका लागि हाल नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीय खटिएको छ । आगलागीको कारण पत्ता लागिनसकेको बताएका भेडेटारका होटल ब्यवसायी आशिष राईले आगलागी नियन्त्रणका लागि प्रयास जारी रहेको बताए ।
उनले भने, ‘हिजोबाटै सुरक्षानिकाय र स्थानीयले आगलागीका लागि प्रयास जारी राखेको छौ । अहिले आएर केही मथ्थर भएको छ ।’ कोल्बोटबाट सुरु भएको आगलागीका कारण जङ्गलको ठूलो क्षेत्रलाई क्षति पुगेको स्थानीयले बताएका छन् ।
आगलागी नियन्त्रणका लागि हालसम्म सशस्त्र २५, नेपाल प्रहरी १२, आर्मी र स्थानीय गरि करिब ४० जनाको समूह लागेको होटल ब्यवसायी राईले जानकारी दिए ।
आगलागी पाथीभरा मन्दिर नजिक पुगेको भएपनि ओसिलो क्षेत्र भएको केही कम भएको र विस्तारै मन्दिरको विपरीत उत्तर दिशातर्फ धनकुटातर्फ जाने राजमार्गतर्फ लग्ने प्रयास जारी रहेको राईले बताए ।
सो क्षेत्रमा स्थानीयको बसोबास नभएकोले मानवीय क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।