नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका महाप्रसाद अधिकारीले आजै सपथ ग्रहण गर्ने भएका छन् । प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष अधिकारीले आज साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
अधिकारीले प्रधानन्यायाधीश समक्ष सपथ ग्रहणपछि आजै राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए । उनले भने, ‘नवनियुक्त गभर्नरले सपथ ग्रहण सकिएपछि राष्ट्र बैंकमा आएर पदभार ग्रहण गर्नुहुन्छ ।’
चैत ५ गते चिरञ्जीवी नेपालको कार्यकाल पूरा भएसँगै रिक्त रहेको गभर्नरमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्रीको नेतृत्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसँगै पूर्वसचिव राजन खनाल र वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नाम सिफारिस गरेको थियो ।