सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए ।
उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्याए । तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन । ‘ज्वरो आएका मान्छेको उपचार हामी गर्दैनौ भनेर फर्काए’, मुसलवानले भने ।
त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए । प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष गुनासो गरे । सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए । तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको थियो ।
आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल पुर्याइएको थियो । अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे । निशाका दुई छोरा र दुई छोरी छन् ।