कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उनको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।
“त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उनलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, सङ्क्रमित महिलाकी जेठानीले भनिन्, “विदेशवाट आइपुगेका देवर ९सङ्क्रमित युवक०लाई भान्सामा उनले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”
कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।
सङ्क्रमित व्यक्तिबाट स्थानीयवासीमा सङ्क्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यतिबेला सङ्क्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ । काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो ।
लकडाउन शुरु हुनुअघि र पछि भारतबाट झण्डै एक लाख ४० हजारको सङ्ख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टाइनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्नसक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।
क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ । यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टाइनमा बसेको र उनीहरुको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ ।