बाबुरामको भिडियो सन्‍देश : ‘सकारात्मक सोच्‍नुहोस्, महामारीपछि पनि जीवन र संसार रहन्छ’

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रह गरेका छन् बिहीबार दिउँसो एक भिडियो सन्देश सार्वजनिक गर्दै बाबुरामले लकडाउनको समयमा उच्च मनोबल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाईंलाई सफल पार्न सबैलाई आग्रह गरेका हुन् ।

उनले सन्देशमा कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति, सफाइ र सञ्चारकर्ममा खटेका सबैको सम्मान गर्दै यस्तो सन्देश दिएका हुन् ।



‘लकडाउनको बेला उच्च मनोवल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाईंलाई सफल पार्न सबैसँग आग्रह गर्दछु’, बाबुरामले भनेका छन्, ‘अहिले हामी सबै घरमा थुनिएर बसेको अवस्था छ। यो समयमा तनाव हुन्छन् । यस्तो बेलामा हामी जति तनावमुक्त हुन सक्यो त्यत्ति हाम्रो प्रतिरक्षा क्षमता बढ्छ। हामीले यत्तिबेला तनावमा पर्ने र चिन्ता गर्ने होइन । यो महाव्याधीपछि पनि जीवन रहन्छ र संसार रहन्छ भन्ने सकारात्मक सोच राख्नुपर्छ ।’

बाबुरामले सरकारलाई विपन्न नागरिक, मजदुर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न मागसमेत गरेका छन् । भट्टराईले सरकार र नागरिकबीच विश्वास र सहकार्य बढाएर कोरोनालाई पराजित गर्न सबैलाई आग्रह गरेका छन् । सँगै उनले विदेशबाट फर्किनेलाई कम्तीमा दुई हप्ता एकान्तबासमा बसेर मात्र परिवारका सदस्यलाई भेट्नसमेत आग्रह गरेका छन् ।

उनले राज्यसँग सहकार्य नभए कोरोनालाई परास्त गर्न नसकिने भएकाले सरकारले लागू गरेको  लकडाउन पालना गर्नसमेत आग्रह गरेका छन्। उनले जनतालाई जीवन र स्वतन्त्रता दुवै चाहिने कुरामा राज्य सचेत रहनुपर्नेमासमेत जोड दिएका छन् ।

https://www.facebook.com/DrBaburamBhattarai/videos/901442526966076/

सम्बन्धित समाचार