भारतीय एक हुल मानिस बाँकेको सीमानामा देखिए । कुसुम क्षेत्रमा आइपुगेका उनीहरु अलपत्र अवस्थामा थिए । बाँके प्रहरीले उनीहरुको उद्धार गर्यो ।
भारत नानपाराका ६७ जना चितवन पुगेका रहेछन् । लकडाउनले गर्दा समस्या परेपछि उनीहरु घर जान भन्दै हिँडेका थिए । १२ औं दिन बाँकेको सीमानामा आइपुगेका थिए । मान्छेले समस्या परेपछि घर अनि परिवार सम्झिन्छ । यी भारतीयहरु पनि घर सम्झिएर आउँदै थिए ।
हिडेर आउँदा एकजनाले बाटोमा बच्चा जन्माइन् । त्यही सुत्केरी पनि हिँडिरहिन् । बाँकेको नाकामा आइपुगेका उनीहरुलाई बाँके प्रहरीले उद्धार गरेर कोहलपुरको हवल्दारपुरस्थित राम माविमा पुर्याएको छ । उनीहरुलाई त्यही बस्ने व्यवस्था मिलाएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताए ।
नानपाराका यी पत्थरकट्टा जाती सडकछेउमा पाल टाँगेर बस्ने र विभिन्न सामानहरु बनाएर बेच्ने गर्दछन् । यी जाति कुनै एक ठाउँमा मात्रै बस्दैनन् । ठाउँ सरिरहन्छन्। इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, बाँके आइपुगेका भारतीयमा १८ वर्षमुनिका ३७ जना, १५ पुरुष र १५ महिला रहेका छन् ।
सीमावर्ती अधिकारीहरुले नेपालमा फसेकालाई भारतीयलाई नेपाल र भारतमा फसेका नेपालीलाई भारतीयले व्यवस्थापन गर्ने सहमति भएको छ । जस अनुसार नै यी ६७ जना भारतीयलाई स्थानीय प्रशासनले विद्यालयमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाएको छ । नेपाल आर्मीले पहिलो दिन खाना खुवाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी बीरबहादुर ओली, डीएसपी शिवबहादुर सिंहलगायतको टीम भारतीयलाई राखिएको ठाउँमा पुगेर फर्किएका छन् ।