नेपालगञ्जको बसुदेवपुरस्थित प्रहरी हवल्दारको घरमा काम गर्ने बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्ल (श्रीमान–श्रीमती)को घरमा काम गर्न राखिएकी बाजुराकी १३ वर्षीया बालिका बिहीबार राती घर परिसरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
घर अगाडिको बगेनाको रुखमा रातो सलले पासो लगाएर झुण्डिएको अवस्थामा बालिका भेटिएकी थिइन् । बालिकाको शवलाई अहिले नर्सिङहोम नेपालगञ्जमा राखिएको छ ।
बालिकाको घरपरिवारलाई बोलाइएको छ । घरपरिवार आएपछि पोष्टमार्टम गर्ने प्रहरीले बताएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले रुखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको र उसलाई कसैले मारेर झुण्ड्याएको हो वा आफै आत्महत्या गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने बताए ।
बालिका ५ वर्षदेखि त्यहाँ काम गर्थिन् । कानुनतः बालश्रमिक राख्न पाइँदैन । घटनाप्रति यहाँका अधिकारकर्मीहरुले पनि चासो देखाएका छन् ।