वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका दुई अधिकारीहरुले ती तीनजनामा संक्रमण देखिएको पुष्टि गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा बसिरहेका २४ जनाको समूहको बारेमा स्थानीयको खबर पश्चात उनीहरुलाई नारायणी अस्पतालमा ल्याइएको थियो । त्यहाँ तीनजनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको थियो । उनीहरुलाई अहिले नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनीहरु भारतीय नागरिक हुन् । नेपाल- भारत सीमा बन्द भएपछि उनीहरु वीरगञ्जमै बसेका थिए । उनीहरु तीनैजनाको परीक्षण गर्दा हेटौँडामा (कोभिड १९) कोरोना भाइरस संक्रमण शंकास्पद पाइएको थियो ।
यी तीनसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १२ पुगेको छ । यीमध्ये दुईजना टेकु अस्पतालमा छन् भने दुईजना बाग्लुङमै उपचाररत छन्। चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीनजना नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्। एक जना सञ्चो भएर घर फर्किसकेका छन् ।