नेपाली कांग्रेसले लकडाउनबाट सिर्जित समस्याले काठमाडौंबाट घरतर्फ लागेकाहरुको विकराल अवस्थाको सरकारलाई ध्यानाकर्षण गराएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत् गरिएको पत्रकार सम्मेलनमा पैदल यात्रामार्फत् घर जानेहरु हनिमुन र पिकनिकका लागि काठमाडौं नछोडेको बताए ।
आर्थिक क्षमताले नधानकै श्रमिक बाहिरिएको उनले बताए । उनले भने, ‘यति लामो यात्रामा निस्केकाहरु भोकका कारण निस्केका हुन् ।’ भोकलाई सहन नसकेर विदेशमा भएका प्रर्दशनको जानकारी समेत उनले सरकारलाई स्मरण गराए । नागरिकको मृत्यु कोरोनाले मात्रै नभएर भोकले पनि हुने तथ्य शर्माले सरकारलाई चेतावनी शैलीमा सचेत गराए । भयावह अवस्था सिर्जना हुनसक्ने आंकलन गर्दै उनले सचेत हुन सरकारलाई अनुरोध गरे ।
भोकले कोहि मर्न पर्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई स्मरण गर्दै शर्माले मजदुरहरु भोककै कारण बाहिरिएको दृष्टान्त सुनाए । भोकभोकै हिडिरहेका नागरिकको पीडाले विस्फोटको रुप लिनसक्ने तर्फ उनले सचेत गराए ।
संकटको समयमा प्रतिपक्ष कांग्रेस सरकारलाई सहयोग पुर्याउन साथमै रहने प्रतिबद्धता शर्माले जनाए । संकटको समयमा देखिएका मजदुरका पीडाप्रति सरकारलाई संवेदनशील बनाउन घच्चघचाइरहेन उनको भनाइ छ ।
लकडाउन लम्बिएसँगै श्रमिकको आयआर्जनको बाटो रोकिएको बताउँदै प्रवक्ता शर्माले श्रमिकका समस्या सम्बोधन गर्न सरकार चुकेको बताए। राहत नपुग्ने र घर जान नपाउनेहरुको अवस्था विकराल हुँदै गएको उनले बताए ।
श्रमिकका समस्या समाधानका लागि सरकारका लागि ३ विकल्प रहेको समेत उनले सुनाए । पहिलो विकल्प बसेकै स्थानमा राहत उपलब्ध गराउनु रहेको उनको भनाइ छ। दोस्रो विकल्प राहत पुर्याउन नसके अप्ठ्यारो झेलेर घर पुर्याउने दायित्व सरकारको भएको शर्माले बताए। आआफ्नै तरिकाले भिडभाडसहित घर निस्कनेहरुका कारणसमेत जोखिम बढेको तर्फ सरकारलाई उनले सचेत गराए। तेस्रो विकल्पबारे उनले भने, ‘न राहत पुर्याउने, न घर पुर्याउने। टुलुटुल हेरिरहने ।’
गाउँमा पुगे पनि नागरिकको समस्या एक स्थानान्तरण मात्रै भएकाले गाउँमा पनि ध्यान पुर्याउन उनले आग्रह गरे ।
लकडाउनको समयमा सरकारले गठन गरेको भूमिहीन आयोगबारे कडा आपत्ति जनाउँदै शर्माले भने, ‘यतिबेला सुकुम्वासीलाई जग्गा होइन जाउलो चाहिएको छ ।’ यो बेला जग्गाको नापी गर्ने समय नभएको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘अर्बौ रकम आयोगलाई छुट्याउन सक्ने सरकारले सुकुम्वासीका लागि राहत छुट्याउन सक्दैन?’
श्रमिकका समस्या र सरकारको कार्यशैली बारे छलफल गर्न पदाधिकारी बैठक शनिबार बोलाइएको समेत उनले जानकारी दिए ।