डाक्टर पुनलाई कारवाही गरिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई कुनै कारवाही नगरिएको स्पष्टीकरण दिएको छ । पुनलाई कारवाही गर्ने आशयको पत्र शुक्रबार थमाइएको समाचार भाइरल भएपछि मन्त्रालयले उनीमाथि कुनै किसिमको कारवाही नगरेको जनाएको हो ।

मन्त्रालयले आवश्यक छलफलका लागि मन्त्रालयमा बोलाउँदा उनले अटेर गरेपछि पठाइएको पत्रलाई कारवाहीकारुपमा व्याख्या गरिएकोमा आपत्ति जनाएको छ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधवप्रसाद तिवारीले कोरोनाको संकटको अवस्थामा जुधिरहेका कुनै पनि डाक्टरहरुमाथि कारवाहीको कुरा सोच्न पनि नसकिने बताए।



‘उहाँ (डाक्टर पुन) लाई छलफलका लागि मौखिकरुपमा बोलाउँदा नआएपछि लिखित पत्र पठाएर डाकिएको हो’, उनले भने, ‘त्यसलाई कारवाहीकारुपमा ब्याख्या गरेर समाचार बनाइनु आपत्तिजनक छ, मन्त्रालयले कारवाहीको कुनै निर्णय नै गरेको छैन। यो स्वास्थ्य मन्त्रीलाई बदनाम गराउने अर्को षडयन्त्र मात्रै हो।’ जथाभावी अभिव्यक्ति दिएको भन्दै डा शेरबहादुर पुनलाई स्पष्टीकरण मागियो मन्त्रालयले पुनलाई कारवाही गरिएको भन्दै मन्त्री ढकालको पनि नाम जोडेर अनर्गल प्रचार गरिएको दाबी गरेको छ ।

‘मन्त्रीज्यूको नामसमेत मुछी अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्रालयले शनिबार साँझ भनेकको छ, ‘ कोभिड-१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने काम भइरहेको छ। स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमासमेतको व्यवस्था भएको छ। यस सन्दर्भमा सत्यतथ्य नबुझी अनर्गल प्रचारका लागि लेख लेखाउने काम कसैले नगर्नुहोला।’

सम्बन्धित समाचार