नवकान्तिपुर संवाददाता
काठमाडौं, बैशाख ७ ।
त्रिभुवन विश्वविद्यालयले सिद्धनाथ साइन्स क्याम्पस, कञ्चनपुरसँग क्याम्पसले हालै राहत वितरणसँग सम्बन्धित विषयमा निकालेको विज्ञप्तिमा प्रयुक्त भाषाप्रति त्रिविको ध्यान आकृष्ट भएको भन्दै यथार्थ जानकारी गराउन पत्रचार गरेको छ ।
रजिष्ट्रार प्राडा पेशल दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ– ‘त्यस क्याम्पसका सहायक क्याम्पस प्रमुख करनसिंह महराद्वारा हस्ताक्षरित उक्त पत्रमा त्रिभुवन विश्वविद्यालयजस्तो स्वदेश तथा विदेशमा समेत स्वतन्त्र, निष्पक्ष तथा विशुद्ध शैक्षिक संस्थाको रूपमा अहम् भूमिका निर्वाह गर्दै आएको त्रिविको गरिमामा नै आँच पुर्याउने प्रवृत्तिका शब्दावली प्रयोग भएको देखिएकोले त्यस प्रकारका शब्दहरू के कति कारणले प्रयुक्त भएका हुन् ? यथार्थ जानकारी २ दिनभित्र विद्युतीय माध्यमबाट गराउनु हुन अनुरोध छ’ भनिएको छ ।
स्मरणीय छ, नवकान्तिपुर डटकमले सिद्धनाथ साइन्स क्याम्पसले क्याम्पसको कुनै एउटा विद्यार्थी समूहका विद्यार्थीहरूले बाँडेको राहत सामग्रीका सम्बन्धमा क्याम्पसद्वारा प्रकाशित विज्ञप्तिमा प्रयुक्त भाषाप्रति आपत्ति प्रकट गर्दै विज्ञप्तिको प्रतिलिपिसहित गत वैशाख ५ गते समाचार सम्प्रेषण गरेको थियो ।