सामूहिक नवाज पढ्दै गरेका १४ जना नियन्त्रणमा

कपिलवस्तुको मायादेवी गाउँपालिकाको एक मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ७ धुपहीको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जना स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शम्सेर जबराले बताए ।

कपिलवस्तुका विभिन्न मस्जिदहरुमा अहिले पनि सामूहिक नवाज पढ्ने गरिएको भन्ने सूचनाका आधारमा धुपहीको मस्जिदमा अनुमगन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राणाले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयक्त टोलीले मस्जिदबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । जिल्लामा रहेका १ सय १४ मस्जिद सहित मदरसा, चर्च तथा सामूहिक पूजाआजा हुनसक्ने मन्दिरहरुमा अनुगनसमेत गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।



मस्जिद सहित जिल्लाका सबै धार्मिकस्थल सुरक्षाकर्मीको निगरानीमा रहेको उनले बताए । जिल्लाका मुस्लिम अगुवाहरुले समेत शुक्रबार र अन्य दिनको नवाज घरमै पढ्न अपिल गरेका छन् । यसअघि जिल्ला प्रशासनले क्वारेण्टाइनभन्दा बाहिर रहेको भन्दै एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको थियो । उनलाई हाल शिवाज नगरपालिकाको एक क्वारेण्टाइनमा राखेर निगरानी गरिरहेको प्रजिअ पौडेलले जानकारी दिए ।

ती व्यक्तिको आरडीटी परिक्षणमा कोरोना नेगेटिभ आएको प्रजिअ पौडेलले बताए । जनवरी २१ तारेखका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल छिरेका ती व्यक्ति ३ महिने टुरिष्ट भिसामा आएका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रजिअ पौडेलले बताए ।

सम्बन्धित समाचार