
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् । ओलीले ट्वीटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन् ।
प्रधानमन्त्रीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा धन्यवाद दिएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत् कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवक राज विक हिजो साँझ निको भएर डिस्चार्ज भएका थिए ।
यसअघि ६ वैशाखमा टेकु अस्पतालबाट एक युवती र धौलागिरी अस्पतालबाट एक वृद्धा निको भएर घर फर्किसकेका छन् । उनीहरूलाई पनि प्रधानमन्त्रीले बधाई दिएका थिए ।
नेपालमा हालसम्म ३१ जनामा कोभिड-१९ पुष्टि भएको छ । तीमध्ये चारजना निको भएका छन् ।
कोरोना भाइरसलाई जितेर कैलालीका २१ वर्षीय युवक आज अस्पतालबाट डिस्चार्ज हुनुभएकोमा बधाई सहित सुस्वास्थ्यको कामना गर्दछु। चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यबाद!
— K P Sharma Oli (@kpsharmaoli) April 19, 2020
